Lumbini Province Nepal     mahurihome@gmail.com

अस्पतालमै हुन्छ लापरवाही, स्वास्थ्यकर्मीको लापरवाहीले शिशुको मृत्यु भएको अाराेप

अस्पतालमै हुन्छ लापरवाही, स्वास्थ्यकर्मीको लापरवाहीले शिशुको मृत्यु भएको अाराेप

तौलिहवा जिल्ला अस्पतालमा चरम लापरवाही हुने गरेको जनगुनासो बढन थालेको छ । जेठ २१ गते बिहान सामान्य प्रसुती सेवा लिन गएकी एक महिलाको शिशुको मृत्यु भए सगै महिलाका परिवारजनले अस्पतालले प्रवाह गर्ने सेवामा लापरवाही हुने गरेको आरोप लगाएका हुन । सोमबार बिहान ३ः२० बजे प्रसुतीका लागी जिल्ला अस्पतालमा भर्ना भएकी कपिलवस्तु नगरपालिका १ चौकबजारकी प्रियंका गुप्ताले जन्माएका शिशुको स्वास्थ्यकर्मीको लापरवाहीले मृत्यु भएको उनका श्रीमान बिवेकचन्द्र गुप्ताले आरोप लगाए ।

आफुहरुले भर्ना गर्दा स्टाफनर्सले सामान्य अवस्था रहेको बताउदै बाहिर लैजान नपर्ने र यहि सामान्य प्रसुती हुने बताएको गुप्ताले जनाए । आफनी श्रीमती भर्ना भएको ७ घण्टा सम्म पनि डाक्टरले नहेरेको र बच्चा जन्मे पछि मृत भएको घोषणा गरिएको बताए । “स्टाफ नर्सले ७ घण्टा सम्म सामान्य हो भन्दै बाहिर लैजान पनि दिएनन र डाक्टरले समेत हेरेनन । सामान्य अवस्थाको भनिएको प्रसुतीका क्रममा जन्मेका शिशूको तत्कालै मृत्यु भएको भेटियो ।” उनले भने ।

पछिल्लो समय स्वास्थ्यकर्मीको लापरवाहीले बिभिन्न घटना घटे पनि अस्पताल प्रशासन मौन हुनु शंकास्पद रहेको उनको भनाई थियो । स्वास्थ्यकर्मीले लापरवाही गर्दा आफूहरुको परिवारले भोग्नु परेको समस्या अरुले भोग्न नपर्ने होस भन्दै अस्पताल प्रशासनलाई सचेत गराउन खोजे पनि अस्पताल प्रशासन भने स्वास्थ्यकर्मीको लापरवाहीमा मुक दर्शक बनेको बिबेकका दाजु बिनयले आरोप लगाए । अस्पतालमा ल्याउने क्रममा प्रसुती वार्डमा खटिएका स्टाफ नर्स शुसिला चौधरी र ईन्दिरा घिमिरेले अवस्था समान्य भएको भन्दै आफुहरुलाई अन्तिम अवस्था सम्म पनि डयुटीमा खटिएका डाक्टर संजय चौधरीलाई भेटन र सम्पर्क गर्न नदिएको उनले बताए । डयुटीका डाक्टर समेत शिशुको मृत्यु पछि सम्पर्कमा आएको उनको गुनासो थियो । यता शिशुको मृत्यु पछि श्रीमती प्रियंका मानसिक रुपमा बिक्षिप्त भएको बिबेकले बताए । अस्पतालमा भएको चरम लापरवाही रोक्न उनले अस्पताल प्रशासन सँग माग गरे । घटना पछि पिडित परिवार सँग डयुटीमा खटिएका डाक्टरले सम्बाद समेत गर्न नखोजेको उनको आरोप छ ।

पछिल्लो समय जिल्ला अस्पतालमा चरम लापरवाही हुदाँ सेवाग्राही मर्कामा पर्ने गरेको जिल्ला समन्वय समिती कपिलवस्तुका सदस्य अनुप कुमार पाण्डेयले बताए । “अस्पतालका एक डाक्टरले बिरामी आउन नपाउदै तत्कालै आफनो लगानी रहेको जितपुरको एक अस्पतालमा रिफर गर्ने गरेका छन । अस्पताल भन्दा निजी क्लिनीकमा समय बढि दिने प्रबृत्तिले लापरवाहीलाई प्रोत्साहित गरेको छ । ” अस्पतालका मेसु किशोर बन्जाडेलाई लक्षित गर्दै पाण्डेयले भने । “पटक पटक अस्पताल प्रशासनलाई सचेत गराए पनि लापरवाही हटेको छैन । यस्तै लापरवाही कायम रहे जनदवाबका कार्य गर्नुको बिकल्प छैन ।” उनले थपे । पछिल्लो समय अस्पतालमा एक्सरे, भिडियो एक्सरे र ल्याब सेवा नहुने भन्दै सेवाग्राहीलाई निजी क्लिनिक र ल्याबहरुमा पठाउने गरिएको गुनासो बढदै गएको छ ।

“अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीले अतिरिक्त सेवा गरे बापत रात्रीकालिन सेवाको भत्ता खाने गरेका छन । तर पनि लापरवाही यथावत हुनु दुखदः छ ।” जिल्ला स्वास्थ्य कार्यालयकै एक कर्मचारीले भने । सो बिषयमा प्रतिक्रिया लिदा जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख योगेन्द्र भगतले अस्पतालमा बिरामीको चाप बढि भएकाले मापदण्ड अनुसारको सेवा दिन समस्या परेको बताए । स्वास्थ्यकर्मीको लापरवाहीले घटना घटेको बिषयमा आफुहरुले आवश्यक जाँच बुझ गर्ने र सम्बन्धित कर्मचारी सँग स्पष्टिकरण लिने उनले जानकारी दिए ।

बुटवल टुडेमा प्रकाशित http://butwaltoday.com.np/articles/details/1165