Lumbini Province Nepal     mahurihome@gmail.com

दलित परिवारमाथि सामूहिक आक्रमण

दलित परिवारमाथि सामूहिक आक्रमण

जेठ २१, २०७५

कपिलवस्तु– महाराजगञ्ज नगरपालिका ८ सोनबर्षाको एक दलित परिवारमाथि सामूहिक आक्रमण भएको छ । गत विहिबार स्थानीय द्रोणबहादुर चमारको परिवारलाई छुवाछुतकै कारण आक्रमण गरिएको घटना बाहिर आएको हो । पीडित चमारले आफुसहित ७ जना परिवारका सदस्यमाथि आक्रमण गर्नेहरुविरुद्ध जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जाहेरी दिएपछि घटना सार्वनिक भएको हो । स्थानीय श्रीकान्त यादव सहितको समूहले १६ गते राती चमारको घरमा आक्रमण गर्दा उनीसहित छोरा जानुलाल चमार, भाई रामबिलास, राहुल र बुहारी सुभावती तथा सोनी चमार गरि ७ जना घाइते भएका छन् ।

आक्रमणमा चमारको दाहिने हात भाचिएको छ भने टाउकोमा गहिरो चोट छ । छोरा, श्रीमती र छोरीको टाउको र शरीरमा चोट र निलडाम छन् । पीडितहरुले प्रतिकार गर्ने क्रममा आक्रमणमा संलग्न सुरेन्द्र यादवसहित ३ जना सामान्य घाईते भएका छन् ।

यसरी भयो घटना: 
स्थानीयबासी राममिलन धोबीका अनुसार १३ गते पीडित द्रोण चमार महाराजगञ्जबाट बजार गरि घर फर्कदै थिए । गाउँकै बाटोमा हिँडिरहेका श्रीकान्त यादवलाई चमारको साइकलबाट ठक्कर लाग्यो । यादवले किन मलाई छोएको भन्दै कुटपिट गरे । चमारको टाउकोमा चोट लाग्यो । ४ दिनपछि चमारको छोरा जानुलालले कुटपिट गरेको भन्दै प्रहरीमा जाने धम्की दिएपछि श्रीलाल यादवले अब दलितलाई गाउँबाट लखेट्ने भन्दै गाउँका राजाराम यादव, मुकेश यादव, सुरेन्द्र यादव र गणेश यादव सहितका १६ जनाको समूह बनाई १७ गते राती ९ बजे चमारको घरमा आक्रमण गरेका थिए ।

घटना पछि के भयो ? 
१६ गते भएको घटनापश्चात पीडित परिवारले नजिकैको हरदौना प्रहरी चौकीमा जाहेरी दिए । प्रहरीले दुबै पक्षलाई छलफलका लागि बोलायो तर यादवहरुले दलितहरुलाई प्रहरीकै अगाडी धम्क्याएपछि उनीहरु त्यहाँबाट भागेको स्थानीय सन्तोष तिवारीले बताए । उनीहरु न्याय माग्दै १८ गते जिल्ला प्रशासन कार्यालय पुगे । प्रमुख जिल्ला अधिकारीले प्रहरी नायब निरिक्षक नरेन्द्र कार्कीलाई घटना बुझेर आवश्यक कार्यवाही गर्न निर्देशन दिए । पीडितहरु जिल्ला प्रहरी कार्यालय पुगे ।

कार्कीले आइतबार आफु घटनास्थल आएर बुझ्ने र अनुसन्धान गर्ने भन्दै उजुरी नलिई फर्काए । आइतबार डिएसपी कार्की नआएपछि उनीहरुले सोमबार घाउजाँच सहित पुनः जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । स्थानीय समाजसेवी झिन्कन कुर्मीले दलितहरु माथि  भएको आक्रमण निन्दनिय र प्रहरीको रवैया अझ लज्जास्पद रहेको बताए । यो ठूलो सामाजिक अपराध हो, अहिलेको जमानामा छुवाछुतकै कारण कुटपिट हुनु कहाँको न्याय हो, ५ दिन देखि पीडित भौतारिदै हिडेका छन् । पीडक खुलेआम घुमेका छन् खै कारवाही ? उनले प्रश्न गरे ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले घटनाबारे सोमबार मात्र उजुरी आएको हुँदा अब अनुसन्धान गरि प्रक्रियामा जाने बताएको छ । प्रहरी प्रवक्ता डिएसपी नरेन्द्र कार्कीेले पीडितले आज मात्र जाहेरी दिएको बताए । घटना ६ दिन अघिको भएपनि उजुरी भर्खरै आएको छ, छानबिन गरि दोषीलाई कारवाही गर्छौ, उनले भने । छुवाछुतकै कारण भएको घटनामा क्षेत्र नंं २ का सांसद वृजेश गुप्ताले दुखः व्यक्त गरेका छन् । २१ औ शताब्दीमा पनि आफ्नो क्षेत्रमा दलितप्रति भएको यस्तो घृणित कार्यले आफ्नो शीर झुकाएको भन्दै तत्काल दोषिलाई कारवाही गर्न उनले माग गरेका छन् । घटनामा प्रहरीको लापरवाही प्रति असन्तुष्ट बनेका सांसद गुप्ताले सीमा क्षेत्रको तस्करी भन्दा पनि प्रहरीले जनताको सुरक्षामा बढि ध्यान दिएर काम गर्न सुझाव दिएका छन् । घटना बारे दलित सम्बद्ध कार्यरत संघ संस्था तथा मानवअधिकारकर्मीहरु समेत अनभिज्ञ छन् ।

बसन्त गिरी रातोपाटी http://ratopati.com/story/47911